संखुवासभामा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा गुडिरहेको ट्याक्टरबाट खस्दा टायरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर मृत्यु भएको छ।

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ। उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको गएराति ना५त ७०८१ नं को ट्याक्टरले किचेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार गुडिरहेको ट्याक्टरबाट खसेका तामाङलाई पछाडिको टायरले किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक तामाङ सोही राजमार्गअन्तर्गतको निर्माणाधीन खाँदबारी–किमाथांका सडकखण्डमा कार्यरत थिए।

घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन्। सिन्धुली घर भई हाल संखुवासभा बस्दै आएका ती चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई मकालु–५ स्थित नुम बजारमा पार्किङ गरी राखिएको अवस्थामा नियन्त्रणमा लिएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दूरीमा पर्दछ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।