राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेल र जापानी प्रधानमन्त्री तकाइची सानाइबीच टोकियोमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र फागुन २१ को निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने विषयमा छलफल भएको छ।

टोकियो (जापान)– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्ध अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यसलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन्।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सानाइले आज गरेको शिष्टाचार भेटका अवसरमा उनले यस्तो धारणा व्यक्त गरेको हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले भने, “हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ। दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ।” नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोसेढुंग भएको उल्लेख गर्दै उनले यस्तो उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताएका छन्।

जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका क्षेत्रमा गर्दै आएको सहयोगले नेपालको मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भने, "नेपाल अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा जापानबाट सदाझैँ सहयोग र सद्भाव प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु।"

सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सानाइले नेपालको स्थायित्व जापान र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने कामना गरेकी छन्। निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने जानकारी दिँदै उनले नेपाल र जापान लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गरिन्। जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सम्पर्क र जापानी नागरिकले नेपालका हिमालहरू चढ्ने गरेका कारण दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको उनको भनाइ थियो।

प्रधानमन्त्री सानाइले नेपाल–जापान कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै जापानले नेपालको सूचना प्रविधि र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन्।