सिरहा प्रादेशिक अस्पतालका २ पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा प्रादेशिक अस्पतालको ३८ लाख ७७ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– सिरहास्थित प्रादेशिक अस्पतालमा करिब ३९ लाख रुपैयाँ राजस्व हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले ओपीडी लगायतका विभिन्न सेवा शुल्कबापत संकलन गरेको राजस्व रकम सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा हिनामिना गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ मा अस्पतालको बिलिङ सफ्टवेयरअनुसार कुल तीन करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ संकलन हुनुपर्नेमा तीन करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको छ। संकलित राजस्वमध्ये ३८ लाख ७७ हजार ७२४ रुपैयाँ सरकारी कोषमा दाखिला नगरी व्यक्तिगत लाभका लागि दुरुपयोग गरिएको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगको दाबी छ।

आयोगले अस्पतालका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह तथा लेखा प्रमुख अशोककुमार यादवलाई मुख्य जिम्मेवार ठहर गर्दै ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। कार्यालय प्रमुखहरूले सफ्टवेयरमार्फत दैनिक राजस्व संकलनको अवस्था हेर्न सक्ने अधिकार हुँदाहुँदै पनि कर्मचारीहरूसँगको मिलेमतोमा हिनामिना हुन दिएको आयोगको निष्कर्ष छ। 

यस्तै, बिल काउन्टरमा कार्यरत कर्मचारीहरूमध्ये सबैभन्दा बढी रकम हिनामिना गरेको भन्दै अहेब श्यामकुमार मण्डलविरुद्ध २५ लाख ४७ हजार ४१७ रुपैयाँ बिगो दाबी गरिएको छ भने अन्य कर्मचारीहरू सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल, पूजाकुमारी यादव र रोशनकुमार यादवविरुद्ध पनि फरक-फरक बिगो कायम गरी सजायको माग गरिएको छ।

तत्कालीन अर्का लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए तापनि भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताको प्रावधानबमोजिम बिगो असुल गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले सबै प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद सजाय र बिगोबमोजिम जरिबाना असुल गर्न माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र पेश गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।