सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसद्बाट फिर्ता लिने सरकारको निर्णय

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने, नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदको सालिक राख्न गुरुयोजना संशोधन गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनका लागि बनेको विधेयक ‘सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) विधेयक, २०८१’ संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्। 

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनका लागि व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।”

त्यस्तै, मन्त्रिपरिषद्ले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय पनि गरेको छ।

“निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय हामीले गरेका छौँ,” मन्त्री अर्यालले भने।