अमेरिकी सरकारी कामकाजको गतिरोध अन्त्य गर्न कंग्रेसमा मतदानको तयारी

अमेरिकी कंग्रेसले संघीय सरकारको कामकाज ठप्प हुनबाट जोगाउन र बजेटसम्बन्धी गतिरोध अन्त्य गर्न मंगलबार खर्च विधेयकमाथि मतदान गर्ने तयारी गरेको छ।

अमेरिकी कंग्रेसले संघीय सरकारको कामकाजमा जारी गतिरोध (सटडाउन) अन्त्य गर्न मंगलबार खर्च विधेयकमाथि मतदान गर्ने तयारी गरेको छ। सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेसँगै मतदानको प्रक्रिया अघि बढेको हो।

संघीय अध्यागमन एजेन्टहरूको कार्यशैलीलाई लिएर उत्पन्न विवादका कारण खर्चसम्बन्धी वार्ता लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो। विशेष गरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक पार्टीका सांसदहरू आक्रोशित बनेका थिए, जसले गृह मन्त्रालय (डीएचएस)का लागि नयाँ बजेट विनियोजन गर्ने विषय थप जटिल बनाएको थियो।

यसअघि सिनेटले आगामी सेप्टेम्बरसम्म अधिकांश संघीय निकायहरू सञ्चालनका लागि बाँकी रहेका पाँचवटा कोष विधेयक पारित गरिसकेको छ। साथै, अध्यागमन नीतिमा थप छलफल गर्न समय निकाल्ने उद्देश्यले डीएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी बजेटसमेत स्वीकृत गरिएको थियो।

सरकारी कामकाज ठप्प हुँदा अत्यावश्यक बाहेकका संघीय सेवाको कोष रोक्का हुने, कार्यालय बन्द हुने र कर्मचारी अवैतनिक बिदामा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ। अध्यागमन कार्यान्वयनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सटडाउन’ अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अहिलेकै अवस्थामा कानून परिवर्तन सम्भव नभएको उल्लेख गर्दै विधेयकलाई शीघ्र अनुमोदन गर्न आह्वान गरेका छन्। यता, डेमोक्र्याटहरूले भने खर्च विधेयक पारित गर्नुअघि अध्यागमन एजेन्टहरूको कार्यशैलीमा सुधार हुनुपर्ने अडान राख्दै आएका छन्। गत महिना मिनियापोलिसमा भएको दुई नागरिकको मृत्युको घटनाले राष्ट्रिय स्तरमै आलोचना र बहस सिर्जना गरेको थियो।

यसै सन्दर्भमा, गृहमन्त्री क्रिस्टी नोमले संघीय एजेन्टहरूले तत्कालै 'बडी क्यामेरा' प्रयोग गर्ने घोषणा गरेकी छन्। यो व्यवस्थालाई पछि देशभर विस्तार गरिने बताइएको छ। राजनीतिक रूपमा संवेदनशील यस वार्ताका बीच प्रतिनिधि सभाका सभामुख माइक जोनसनले दलहरू सम्झौताको नजिक पुगेको विश्वास व्यक्त गरेका छन्।

यद्यपि, रिपब्लिकन पक्षको बहुमत झिनो भएकाले यो विधेयक पारित गर्न डेमोक्रेटिक सांसदहरूको मतमा भर पर्नुपर्ने सम्भावना देखिएको छ। यदि तल्लो सदनले सिनेटको सम्झौतालाई अनुमोदन गरेमा, सांसदहरूसँग डीएचएसको पूर्ण वर्षको बजेटमा सहमति जुटाउन केवल दुई हप्ताको समय मात्र बाँकी रहनेछ।