युक्रेनका विभिन्न शहरमा पुनः रुसी आक्रमण

रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ। वासिंटनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि वार्ता सफल हुन सकेको छैन।

युक्रेनका विभिन्न शहरमा पुनः रुसी आक्रमण
रोयटर्स

रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न शहरमा पुनः आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामबीच रुसले मंगलबार आक्रमण गरेको हो। 

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभ र अन्य शहरमा आक्रमण रोक्न सहमति जनाएको दाबी गरेका थिए। क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने बताएको छ। तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको जनाएको छ। आक्रमणबाट किएभमा तीन जना घाइते भएको त्यहाँका सैन्य प्रशासनप्रमुख तिमुर टाकाचेन्कोले बताएका छन्। 

उता, पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएका छन्। रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ। वासिंटनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि अबुधाबीमा भएको प्रारम्भिक वार्ता सफल हुन सकेन। वार्ताको दोस्रो चरण बुधबार शुरू हुने अपेक्षा गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालको तनाव घटाउने प्रयासले विश्वास निर्माणमा सहयोग पुगेको बताएका छन्। तर क्षेत्रीय नियन्त्रणको विषय अझै विवादकै रूपमा रहेको छ। रुसले डोनेट्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण चाहेको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ। (रासस/एएफपी)