बांग्लादेशको एक अदालतले सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनालाई १० वर्ष र उनकी भतिजी एवं बेलायती सांसद ट्युलिप सिद्दिकलाई ४ वर्षको जेल सजाय सुनाएको छ।
बांग्लादेशको एक अदालतले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी भतिजी एवं बेलायती सांसद ट्युलिप सिद्दिकलाई भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाएको छ। राजधानी ढाका नजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा हसिनालाई १० वर्ष र ट्युलिपलाई ४ वर्षको सजाय सुनाइएको हो।
विशेष न्यायाधीशको अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमले हसिनाकी अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई पनि जनही सात वर्षको जेल सजाय सुनाएका छन्। बांग्लादेशको भ्रष्टाचार नियन्त्रण निकायले हसिनाले सरकारी अधिकारीसँगको मिलेमतोमा ढाका नजिकैको 'पूर्वाचल न्यु टाउन प्रोजेक्ट'मा आफ्नो परिवारका लागि अवैध रूपमा ६ वटा प्लट सुरक्षित गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फेब्रुअरी १२ मा चुनावको तयारी गरिरहेका बेला यो फैसला आएको हो। हसिनाको दल अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ। हसिना र ट्युलिप दुवैले यसअघि पनि यस्तै मुद्दामा सजाय पाइसकेका छन्। उनीहरूले भने यो फैसलामा असहमति जनाएका छन्।
ट्युलिप सिद्दिकले आफू बांग्लादेशी नागरिक नभएको र काकीको १५ वर्षे शासनकालमा कुनै जग्गा नलिएको दाबी गरेकी छन्। तर, अभियोजनकर्ताहरूले भने उनले आफ्नी आमा र दाजुभाइका लागि जग्गा प्राप्त गर्न काकीलाई प्रभावमा पारेको आरोप लगाएका छन्।
शक्तिको दुरुपयोग गरेको अभियोगमा हसिना यसअघि नै अन्य चार भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेकी छन्। ती मुद्दामा उनलाई कुल २६ वर्षको जेल सजाय सुनाइएको छ भने उनका छोरा सजीब वाजेद र छोरी साइमा वाजेदलाई पाँच–पाँच वर्ष तथा बहिनी शेख रेहानालाई सात वर्षको सजाय सुनाइएको छ।
सजाय सुनाइएका सबै अहिले विदेशमा छन्। ट्युलिप बेलायतमा छिन् भने हसिना सन् २०२४ अगस्ट ५ को जनविद्रोहपछि भारतमा निर्वासनमा छन्। विद्रोहका क्रममा सयौँको मृत्यु भएपछि हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजायसमेत सुनाइएको छ। बांग्लादेशले हसिनालाई सुपुर्दगी गर्न गरेको अनुरोधमा भारतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
