झापामा ‘कसलाई भोट हाल्नुहुन्छ?’ भनी प्रश्न सोधे कारबाही

जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालको प्रयोग गरी निर्वाचनको गोपनीयता भंग हुने गरी मतदातालाई प्रश्न सोध्ने अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।

झापा– झापामा कुनै पनि अनलाइनले सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई ‘कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ?’ भनी प्रश्न सोध्न नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै यसरी प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्ने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चारमाध्यमले मतदातालाई ‘कुन निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ?’ भनी प्रश्न गर्ने गरेको जानकारी प्राप्त भएको भन्दै प्रशासनले यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) को उल्लंघन भएको ठहर गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय अन्जन न्यौपाने र तेजप्रकाश प्रसाईद्वारा जारी सूचनामा, यस्तो कार्य जारी राखेमा तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। 

“यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेछ,” सूचनामा भनिएको छ।