तिब्बती धर्मगुरु दलाई लामालाई संगीत क्षेत्रको सर्वोच्च ग्रामी अवार्ड

नोबेल शान्ति पुरस्कार प्राप्त गरेको लगभग चार दशकपछि, दलाई लामाको ग्रामी जितले उनको यात्रामा अर्को अप्रत्याशित अध्याय थपेको छ।

काठमाडाैँ– तिब्बती आध्यात्मिक नेता/धर्म गुरु दलाई लामाले संगीतको सर्वोच्च सम्मान ग्रामी अवार्ड जितेर विश्वलाई चकित पारेका छन्।

अमेरिकाको लस एन्जलसमा आइतबार साँझ भएको ६८औँ ग्रामी अवार्ड समारोहले ९० वर्षका दलाई लामालाई झन् चर्चाको शिखरमा पुर्‍याइदिएको छ। उनको एल्बम 'मेडिटेशन: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामा'को लागि ग्रामी प्रदान गरिएको हो। 

उनले यो अवार्ड 'बेस्ट अडियो बुक, न्यारेसन र स्टोरी टेलिङ' विधामा जितेका हुन्। उनले यस विधामा अन्य प्रतिस्पर्धी अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधीश केतनजी ब्राउन ज्याक्सन, ग्रामीका होस्ट ट्रेभर नोआलाई पछि पार्दै ग्रामी हात पारे। पहिलो पटक, संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान ग्रामी अवार्ड आध्यात्मिक नेतालाई प्रदान गरिएको हो।

आध्यात्मिक शिक्षाको माध्यमबाट शान्ति र ध्यानको सन्देश फैलाउने उनको प्रयासलाई संगीतको रूपमा प्रस्तुत गरिएको हो। नोबेल शान्ति पुरस्कार प्राप्त गरेको लगभग चार दशकपछि, दलाई लामाको ग्रामी जितले उनको यात्रामा अर्को अप्रत्याशित अध्याय थपेको छ। उमेर र सीमित यात्राका कारण दलाई लामा समारोहमा उपस्थित नभए पनि, उनको कार्यालयले पुरस्कार ग्रहण गरेको थियो।

दलाई लामाको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, "यो सम्मानले विश्वभरका मानिसहरूलाई ध्यान र करुणाको महत्व बुझाउने अवसर दिनेछ।"

यो ग्रामी अवार्ड साँझ अर्को सन्दर्भमा पनि विशेष रह्यो। दलाई लामासँगै के–पप (कोरियन पप संगीत) ले पनि पहिलो ग्रामी जितेको छ।

'के–पप डेमन हन्टर्स'को 'गोल्डेन' गीतले प्रिमियर समारोहमा भिजुअल मिडियाका लागि लेखिएको गीतको लागि पुरस्कार जित्यो। यससँगै के–पप कलाकारले इतिहासमै पहिलो पटक ग्रामी अवार्ड जितेका छन्।