पाकिस्तानी सुरक्षा बलको आक्रमणमा ९२ आतंकवादीको मृत्यु

प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेसन जारी राख्ने र आतंकवादी गतिविधिमा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने सेनाले जनाएको छ।

पाकिस्तानी सुरक्षा बलको आक्रमणमा ९२ आतंकवादीको मृत्यु
ईपीए

पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षा बलको अपरेसनमा ९२ जना आतंकवादीको मृत्यु भएको छ। शनिबार भएको उक्त अपरेसनका क्रममा १८ निर्दोष नागरिक र १५ सैनिकको पनि मृत्यु भएको जनाइएको छ। 

सैनिक प्रवक्ताका अनुसार, आतंकवादीले ग्वादर, खारण र अन्य जिल्लामा विभिन्न आक्रमणको योजना बनाएका थिए। यस्ता आक्रमणले स्थानीय जनजीवन संकटमा पार्ने र क्षेत्रीय विकासमा बाधा पुर्‍याउने खतरा थियो। 

प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेसन जारी राख्ने र आतंकवादी गतिविधिमा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने सेनाले जनाएको छ। प्रान्तभर आतंक फैलाउने योजना रोक्न र स्थानीय जनजीवन तथा विकासमा सुरक्षा सुनिश्चित गर्ने लक्ष्यसहित सुरक्षा बलले सो क्षेत्रमा निगरानी जारी राखेको छ। 

बलोचिस्तान प्रान्त पाकिस्तानको रणनीतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। यहाँ बन्दरगाह शहर ग्वादर, प्राकृतिक स्रोत र आर्थिक परियोजना रहेका छन्। केही वर्षदेखि यो क्षेत्रमा विभिन्न आतंकवादी समूह सक्रिय रहेका छन्। 

पाकिस्तानले नियमित रूपमा सुरक्षा अपरेसन सञ्चालन गर्दै आएको छ। जसले आतंकवादी गतिविधि रोक्न र स्थानीय जनजीवन सुरक्षीत बनाउन सहयोग पुर्‍याएको छ। (रासस/सिन्ह्वा)