मुकुम्मलुङ आन्दोलनका ६५ घाइते सम्मानित

मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ६५ जनालाई संघर्ष समितिले सम्मान गर्दै केबलकार निर्माणको निर्णय सच्याउन सरकारसँग माग गरेको छ।

ताप्लेजुङ– मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई केबलकार खारेजी लगायतका विभिन्न संघर्ष समितिले सम्मान गरेका छन्। २०८१ माघमा भएको आन्दोलनका क्रममा घाइते भएका ६५ जनालाई शनिबार एक कार्यक्रमबीच सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा बोल्दै केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र लिम्बुले मुकुम्मलुङ क्षेत्रमा केबलकार निर्माण गर्न दिने सरकारको निर्णय गलत भएको भन्दै तत्काल सच्याउन माग गरे। “धार्मिक केन्द्रलाई व्यापारिक केन्द्र बनाउनु हुँदैन। हामी मुकुम्मलुङ बचाउन अन्तिम सास रहेसम्म लड्नेछौँ,” उनले भने।

कार्यक्रममा लिम्बु थरागत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले आगामी निर्वाचनमा मुकुम्मलुङ संरक्षण अभियानप्रति प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताए। सरकारले जबरजस्ती केबलकार निर्माणको अनुमति दिएकाले त्यसलाई रोक्न आन्दोलनको विकल्प नरहेको उनको भनाइ थियो।

यस्तै, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले मुकुम्मलुङ सांस्कृतिक, धार्मिक र प्राकृतिक स्थल भएकाले यसको संरक्षण अनिवार्य रहेको उल्लेख गरे। केबलकार निर्माणले स्थानीय व्यापार व्यवसायमा गम्भीर असर पर्ने बताउँदै उनले भने, “हाम्रो ठाउँमा बाहिरका व्यापारीले संरचना बनाएपछि स्थानीयको व्यवसाय संकटमा पर्छ र नाफा पनि बाहिरै जान्छ।”

घाइतेहरूका तर्फबाट बोल्दै सगुन लावतीले आफूहरू साझा धार्मिक स्थल जोगाउन लडिरहेको बताए। आन्दोलनका क्रममा छातीमा गोली लागेका लावतीले केबलकार निर्माणका कारण जीवजन्तु र गुराँस लगायतका बोटबिरुवा नष्ट भइरहेकोमा चिन्ता व्यक्त गरे।

आन्दोलनमा सहभागी इन्दिरा धौरालीले ऐतिहासिक स्थल मासेर केबलकार बनाउन नपाइने बताइन्। “यो सबैको साझा पहिचान हो, सरकारले जति दमन गरे पनि हामी पछि हट्दैनौँ,” उनले भनिन्।

कार्यक्रममा मोरङ जेनजी काउन्सिलका संयोजक राम खत्रीले सरकारले विभिन्न स्थानमा आदिवासी जनजातिको आस्थामाथि आक्रमण गरिरहेको आरोप लगाए। “सरकारले कहिले खुवालुङ, कहिले खोकना त कहिले मुकुम्मलुङमा हस्तक्षेप गरिरहेको छ,” उनले भने। खत्रीले मुकुम्मलुङ संरक्षणमा आफ्नो संस्था प्रतिबद्ध रहेको समेत जनाए।