तीन जनाको हत्या गरेको अभियोगमा शुक्लागण्डकीबाट एक जना पक्राउ

तनहुँको शुक्लागण्डकीमा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। अदालतबाट पक्राउ परेका व्यक्तिविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ।

हत्या अभियोगमा पक्राउ परेका कास्की घर भई शुक्लागण्डकी–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध तनहुँ जिल्ला अदालतबाट बिहीबार म्याद थप गरिएको हो। निजविरुद्ध 'कर्तव्य ज्यान'सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए। प्रहरीले नेपालीको साथबाट हत्यामा प्रयोग गरिएको चक्कु, चप्पल, सल र कपडाहरू बरामद गरेको छ।

गत पुस २६ गते बिहान सेती नदीस्थित कसेरीघाटमा तीन जनाको बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। शुक्लागण्डकी फोहोर प्रशोधन केन्द्र नजिकै शुक्लागण्डकी–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ की ५८ वर्षीया देउमाया थापा र नाम–थर नखुलेका अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको थियो।

घटनालगत्तै तालिमप्राप्त कुकुरसहित गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालयका विज्ञ टोलीले गहन अनुसन्धान सुरु गरेका थिए। हालसम्म पहिचान हुन नसकेका पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरिएको र शवलाई अस्पतालको शवगृहमा सुरक्षित राखिएको डीएसपी विकले बताए।