सिरहामा खेतमा काम गरिरहेका युवकको गोली हानी हत्या

सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आफ्नै खेतमा काम गरिरहेका एक युवकको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

प्रतीकात्मक तस्वीर

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा शुक्रबार अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन्। सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।

सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो। उनको छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर अनुसन्धान शुरू गरिसकेको छ। “मृतक यादव खेती किसानीमा आबद्ध थिए। उनको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन,” उनले भने।

अज्ञात समूह गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। यादवको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।