राप्ती स्वास्थ्य प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले राप्ती स्वास्थ्य प्रतिष्ठानमा सिटी स्क्यान मेसिन किन्दा सात करोड ३१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन उपकुलपति प्राडा. संगिता सिंह भण्डारीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

काठमाडौँ– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा. संगिता सिंह भण्डारीसहित १८ जना कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्दा कुनै गुरुयोजना र आवश्यकताको पहिचान नै नगरी प्रक्रिया अघि बढाएको पाइएको छ। बोलपत्र आह्वान गर्दा ठेकेदारसँगको मिलेमतोमा निश्चित कम्पनीलाई फाइदा हुने गरी शर्तहरू राखिएको अख्तियारको दाबी छ।

विशेष गरी हिमालयन मेडिटेक प्रालिले आपूर्ति गरेको न्युसफ्ट कम्पनीको मेसिनले प्राविधिक मापदण्ड पूरा नगरेको भेटिएको छ। तर, प्रतिष्ठानका पदाधिकारी र इन्जिनियरहरूले मेसिनका कमजोरी लुकाएर गुणस्तरीय रहेको झूटा प्रतिवेदन बनाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेको छ।

सार्वजनिक खरिद नियमावलीविपरीत डलरमा सम्झौता गरिएको, प्रतीतपत्र (एलसी) खोल्दा लाग्ने खर्चसमेत प्रतिष्ठानले नै बेहोरेको र गुणस्तर परीक्षण नै नगरी अन्तिम भुक्तानी दिइएको अख्तियारको आरोप छ। यसरी ठेक्का सम्झौता र भुक्तानीका क्रममा भएको चलखेलले प्रतिष्ठानलाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी अतिरिक्त व्ययभारसमेत पारिएको छ।

अख्तियारले विपक्षी बनाएकाहरूमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा. भण्डारीसहित तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी., बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आशुतोष भण्डारी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी रहेका छन्।

त्यसैगरी, खरिद प्रक्रियामा संलग्न कर्मचारीहरू लेक्चरर डा. श्रीसिया पोख्रेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर र कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाहलाई पनि प्रतिवादी बनाइएको छ।

आपूर्ति गर्ने कम्पनी हिमालयन मेडिटेक प्रालिसहित त्यसका मुख्य सञ्चालकहरू अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई पनि विपक्षी बनाउँदै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले प्रतिवादीबाट जनही सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।