कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ मा बोलाउन सिफारिस

कोशी प्रदेश सरकारले माघ २५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्दै प्रदेश योजना आयोग गठन र जनता आवास कार्यविधि स्वीकृत लगायतका निर्णय गरेको छ।

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजे बैठक बोलाउन सिफारिस गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने बताए। मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने गरी उक्त सभागृहमा बैठक सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानूनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्त्वपूर्ण निर्णयहरूसमेत गरेको छ। सरकारले मन्त्रिपरिषद्को कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको 'कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२' लाई स्वीकृत गरेको छ।

त्यसैगरी, प्रदेशमा कानुनी सहायतासम्बन्धी व्यवस्था गर्न 'कोशी प्रदेश कानूनी सहायता विधेयक'को मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिइएको छ। बैठकले नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित 'कोशी पम्प चन्द्रनहर सिँचाइ आयोजना'मा प्रयोग हुने सवारीसाधनलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारका तर्फबाट साढे १२ प्रतिशत 'म्याचिङ फन्ड' उपलब्ध गराउने निर्णय भएको छ। यस कार्यक्रमअन्तर्गत संघीय सरकारले ७७ करोड रुपैयाँ पुँजीगत र ७० लाख रुपैयाँ चालू खर्च उपलब्ध गराएको छ। त्यस्तै, विपन्न नागरिकको आवास अधिकार सुरक्षित गर्न 'कोशी जनता आवाससम्बन्धी मापदण्डसहितको कार्यविधि २०८२'लाई समेत मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।