मधेशमा आधाभन्दा बढी मतदानस्थल अतिसंवेदनशील

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन्।

फाइल तस्वीर

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका १ हजार २४६ मतदानस्थललाई ‘अतिसंवेदनशील’को सूचीमा राखिएको छ। प्रदेशका कुल २ हजार १६० मतदानस्थलमध्ये आधाभन्दा बढी स्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील देखिएका हुन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन्। त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको हो। मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन्।

मधेश प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्। जसमा पुरुषको संख्या १९ लाख पाँच हजार ८१९ र महिलाको संख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ।