कमला नदीमा अस्थायी ‘डाइभर्सन’

बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खायाममा त्यही पुलसमेत बाढीले बगाउँदा झन् समस्या हुने गरेको थियो।

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवतजावत सहज भएको छ। वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ।

हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए। “हाल सबै प्रकारका सवारीसाधनको सहज आवतजावत शुरू भइसकेको छ। यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेश प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ,” उनले भने।

यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुंगाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए। 

पुल अन्तिम चरणमा
१४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएको निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले बताए। 

२०६८ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित पुल निर्माण शुरू गरिएको थियो। तर समयमा पूरा भएन। म्याद थपिँदै गयो। २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्‍याएपछि थप समस्या सिर्जना भयो। पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीय जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन्। 

“लामो समयसम्म काम हुन सकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ,” स्थानीय युवा सन्तोष यादव भन्छन्, “डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ। त्यसमा सबै गम्भीर बन्नुपर्छ।”

हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुने उनको भनाइ छ।