घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

मानव अधिकार आयोगले आसन्न निर्वाचनको पृष्ठभूमिमा सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्‍याउने गरी जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने घृणाजन्य अभिव्यक्ति रोक्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा विद्वेष फैलाउनुका साथै शान्ति सुरक्षामा समेत चुनौती सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ। आयोगले शान्ति सुरक्षालाई थप मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

“कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवं मर्यादित भएर एक–अर्काप्रति मानव अधिकारमैत्री भाषा प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवं सर्वसाधारणलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एक–अर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्ति दिने तथा अमर्यादित आरोप–प्रत्यारोप गर्ने कार्य भइरहेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

“यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनका समयमा शान्ति सुरक्षामा समेत असर पर्ने देखिन्छ,” विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले अभिव्यक्ति तथा विचारको स्वतन्त्रता प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन।”

आयोगले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा पर्न सक्ने असरप्रति जिम्मेवार व्यक्तिले सदैव ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएको छ।