गाली बेइज्जतीको आरोपमा युवराज सफल पक्राउ

महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध तथ्यहीन आरोप लगाएको अभियोगमा प्रहरीले युवराज सफललाई पक्राउ गरी अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान शुरू गरेको छ।

काठमाडौँ– जिल्ला प्रहरी परिसर, काठमाडौँले सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति दिएको र गाली बेइज्जती गरेको आरोपमा युवराज पौडेल (सफल)लाई पक्राउ गरेको छ।

महान्यायाधिवक्ताको कार्यालय र स्वयं महान्यायाधिवक्ताविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गरेको, अपशब्द प्रयोग गरेको र भ्रामक सामग्री फैलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सफलले आफ्ना भिडियो र अन्तर्वार्तामा महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने गरेको भन्ने जस्ता आरोप लगाएका थिए।

यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते नै प्रहरीलाई पत्राचार गर्दै कानूनी कारबाहीका लागि अनुरोध गरेको थियो। कार्यालयबाट प्राप्त पत्र र उनले सार्वजनिक गरेका भिडियो क्लिपको सूक्ष्म अनुसन्धान तथा विश्लेषणपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।