निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको मंगलबारको बैठकको विशेष समयमा उनीहरूले राष्ट्र र जनताको हितमा काम गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे। 

नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रियसभाका सचेतक गंगाकुमारी बेल्बासेले बेथिति, भ्रष्टाचार र वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखिन्। 

“मतको दुरुपयोग नगर्नुहोला। सच्चा र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु। अब बन्ने सरकारले विकृति र विसंगति रोक्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्छ,” उनले भनिन्।

उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले त्यसो गर्नेलाई कारबाही गर्नुपर्ने बताइन्। 

सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले अघिल्लो सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसक्दा जेनजी आन्दोलन भएको यथार्थ प्रस्तुत गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइन्। 

राजनीतिक अनिश्चितताका बीच निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न लागेकोमा सरकारलाई धन्यवाद दिँदै उनले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताइन्।

नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै यसलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए। 

“जेनजी आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिएका छन्, कैदीबन्दीहरू बाहिरै छन्, नयाँ र पुराना राजनीतिक दलबाट तिक्ततापूर्ण अभिव्यक्ति आइरहेका छन्,” उनले भने, “निर्वाचन शान्तिपूर्ण ढंगबाट अगाडि बढोस्, लोकतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्दै जनभावनाअनुसार अघि बढ्ने परिस्थिति निर्माण होस्।”

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिए। “पुराना दलहरूलाई यो निर्वाचनबाट ‘नामेट’ बनाउनुपर्छ भन्ने भाष्य सिर्जना गरेर केही नयाँ भनिएका दलहरू लागिरहेका छन्; यो मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक अधिकार र संविधान कसले ल्यायो?”, उनले प्रश्न गरे, “दलका केही पात्र खराब हुन सक्छन्, तर राजनीतिक दललाई नै दोषी देखाएर जनतालाई भ्रमित गर्ने कोसिस भइरहेको छ, त्यसप्रति सम्पूर्ण नागरिक सचेत हुनुपर्छ।”

कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। सांसद मिश्रले जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताए। 

“यो आन्दोलनले सबै एक हौँ भन्ने भावना विस्तार र युवालाई एकजुट गरायो, तर कसैलाई शासनबाट लखेट्न वैचारिक र वैधानिक बाटोको सट्टा तोडफोड र आगजनीको बाटो रोज्नु चिन्ताको विषय हो,” उनले भने।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराए। मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उनले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताए।