ट्रम्पले दक्षिण कोरियालाई २५ प्रतिशत ट्यारिफ लगाउने

ट्रम्पले गत वर्ष भएको व्यापार सम्झौतालाई दक्षिण कोरियाले 'राम्रोसँग कार्यान्वयन नगरेको' आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जेम्युङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

उनले दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतालाई 'राम्रोसँग कार्यान्वयन नगरेको' आरोप लगाए। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै ट्रम्पले कार, काठका सामान, औषधि र अन्य उत्पादनहरूमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याइने बताए। उनले यसलाई 'पारस्परिक कर' भनेका छन्।

यदि कुनै देशले अमेरिकी सामानहरूमा उच्च आयात शुल्क लगाउँछ भने, संयुक्त राज्य अमेरिकाले पनि त्यो देशबाट आउने सामानहरूमा उच्च आयात शुल्क लगाउनेछ। यसलाई पारस्परिक शुल्क भनिन्छ।

दक्षिण कोरियाको संसदले सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको, जबकि अमेरिकाले सम्झौता अन्तर्गत आफ्नो भन्सार द्रुत गतिमा घटाएको ट्रम्पले बताएका छन्।

यसैबीच, दक्षिण कोरियाले भन्सार बढाउने निर्णयको बारेमा कुनै आधिकारिक जानकारी नदिइएको बताएको छ।

दक्षिण कोरियाले पनि यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्न माग गरेको छ।