त्रिशूली किनारामा पुरिएको गणपति डिलक्स बसबाट निकालयो मानव कंकाल

त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा फेला परेको गणपति डिलक्स बसभित्र मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

तनहुँ— तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसभित्र मानव कंकाल फेला परेको छ।

करिब डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बगेर बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कंकाल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र भएको मानव कंकाल भेटिएको हो। फेला परेको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।

सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि उक्त बसका पाटपुर्जा देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण (चितवन) र नं २३ मनकामना गण (भानु, तनहुँ) बाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो।

विसं २०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति डिलक्सका तीन यात्रु पौडिएर ज्यान जोगाउन सफल भएका थिए भने अन्य सबै यात्रु बससँगै बेपत्ता भएका थिए।