ग्रोक एआईमार्फत ‘डिपफेक’ तस्वीर बनाएको भन्दै एक्समाथि ईयूको अनुसन्धान

युरोपेली युनियनले इलन मस्कको ‘ग्रोक एआई’मार्फत महिला र बालबालिकाको यौनजन्य सामग्री उत्पादन भएको भन्दै सामाजिक सञ्जाल ‘एक्स’माथि अनुसन्धान शुरू गरेको छ।

युरोपेली संघ (ईयू)ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समाथि औपचारिक अनुसन्धान शुरू गरेको छ।

यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबोट ‘ग्रोक’ले महिला तथा नाबालिगहरूको यौनजन्य 'डिपफेक' तस्वीरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ। अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा ईयूले यो कदम चालेको हो।

प्रयोगकर्ताहरूले साधारण टेक्स्ट प्रम्प्टबाट महिला तथा बालबालिकाको तस्वीरलाई यौनजन्य रूपमा रूपान्तरण गर्न सक्ने तथ्य सार्वजनिक भएपछि ग्रोक तीव्र आलोचनाको घेरामा परेको थियो। यसले डिजिटल सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले भनिन्, “युरोपमा हामी महिला र बालबालिकाको डिजिटल रूपमा अपमान गर्ने यस्ता अकल्पनीय व्यवहारलाई सहन सक्दैनौँ।” उनले थप स्पष्ट पार्दै भनिन्, “यो विषय अत्यन्त सरल छ—प्रविधि कम्पनीहरूलाई सहमति र बाल संरक्षणका आधारभूत सिद्धान्त उल्लंघन गर्न र त्यसबाट मुनाफा कमाउन अनुमति दिइँदैन। अवैध तस्बिरहरूले निम्त्याउने क्षति वास्तविक र गम्भीर छ।”

ईयूका प्रविधि आयुक्त हेना विर्कुनेनले डिजिटल सर्भिस एक्ट (डीएसए)अन्तर्गत एक्सले आफ्नो कानूनी दायित्व पूरा गरेको छ कि छैन भन्ने कुरा यो अनुसन्धानले स्पष्ट गर्ने बताइन्। उनका अनुसार ईयूमा महिला र बालबालिकाको अधिकार एक्सका सेवाहरूको ‘साइड इफेक्ट’ बन्नु हुँदैन।

ब्रसेल्सले एक्सले ईयूभित्र अवैध सामग्रीको प्रसारसँग सम्बन्धित जोखिमहरू—जसमा हेरफेर गरिएका यौनजन्य तस्बिर र बाल यौन दुर्व्यवहारका सामग्री हुन सक्ने आशङ्का गरिएको छ—लाई प्रभावकारी रूपमा कम गरेको छ कि छैन भन्ने विषयमा छानबिन भइरहेको जनाएको छ।

गैरनाफामूलक निगरानी संस्था 'सेन्टर फर काउन्टरिङ डिजिटल हेट' (सिसिडिएच)ले बिहीबार सार्वजनिक गरेको अनुसन्धानअनुसार ग्रोकले केही दिनमै महिला र बालबालिकासँग सम्बन्धित अनुमानित ३० लाख यौनजन्य तस्वीरहरू सिर्जना गरेको थियो। यही तथ्यले ईयूको चासो झनै बढाएको छ।

नयाँ अनुसन्धानको एक हिस्साका रूपमा ईयूले अवैध सामग्री तथा सूचना हेरफेरको प्रसार नियन्त्रण गर्ने उद्देश्यले एक्समाथि पहिलेदेखि चलिरहेको अनुसन्धानको दायरा विस्तार गरिरहेको जनाएको छ। एलन मस्कको यो सामाजिक सञ्जाल प्लेटफर्म डिसेम्बर २०२३ देखि नै ईयूको डिजिटल सामग्रीसम्बन्धी नियमहरू अन्तर्गत अनुसन्धानको घेरामा रहँदै आएको छ।

यसअघि डिसेम्बर महिनामा ब्रसेल्सले डीएसएको पारदर्शितासम्बन्धी दायित्व उल्लंघन गरेको ठहर गर्दै एक्सलाई १२ करोड युरो (करिब १४ करोड अमेरिकी डलर) जरिबाना गरेको थियो। उक्त निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट तीव्र प्रतिक्रिया आएको थियो।

उल्लंघनका आरोपहरूमा प्रमाणित खाताका लागि प्रयोग गरिएको ‘नीलो चेकमार्क’को भ्रामक डिजाइन र अनुसन्धानकर्ताहरूलाई सार्वजनिक तथ्यांकमा पहुँच उपलब्ध गराउन गरिएको असफलता जस्ता विषय समावेश थिए।

वासिङ्टनको दबाबका बाबजुद ईयूले आफ्ना नियमहरू कडाइका साथ लागू गर्ने अडान दोहोर्‍याउँदै आएको छ। युक्रेन युद्ध, व्यापार विवाददेखि ग्रिनल्यान्डसम्बन्धी मुद्दासम्म विभिन्न मोर्चामा ट्रम्प प्रशासनसँग टकरावको अवस्था रहँदा प्रविधि नियमनसम्बन्धी यो विवाद थप चर्किएको देखिन्छ।