उपेन्द्र यादव नेतृत्वको जसपामा महन्थ ठाकुर नेतृत्वको लोसपा मिसिएको भोलिपल्ट अशोक राई नेतृत्वको जसपा नेपालबाट उपाध्यक्ष रेणु यादवसहितका नेता पनि एकतामा गए। के अब चुनावमा जसपा ‘कम ब्याक’ होला?
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेको सप्तरी–३ का स्थानीय हुन् गिरधारी सिंह। यादव माघ ६ गते उम्मेदवारी दर्ता गरेर आफ्ना कार्यकर्तासँग फर्किइरहेका बेला सिंहले उनैको सामुन्ने आफूले भोट नदिने भन्दै आक्रोश पोखे।
यादवका कार्यकर्ताले ‘कसलाई दिने त’ भनेर सोधे। सिंहले जवाफ दिए, “यसपटकको मेरो भोट नयाँलाई हो। २०औँ वर्षदेखि तपाईंलाई मत दिँदादिँदा थाकिसक्यौँ। अरूले पनि अवसर पाउनुपर्छ।”
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी–२ बाट उम्मेदवार बन्दा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। प्रतिनिधिसभा निर्वाचनमा त्यो उनको पहिलो हार थियो। यद्यपि, पाँच महिनापछि २०८० वैशाखमा भएको बारा–२ को उपनिर्वाचनबाट उनी प्रतिनिधिसभामा पुगे। यसपटक फेरि सप्तरी फर्किएका उनी राउतकै कारण सप्तरी–२ छाडेर सप्तरी–३ मा उम्मेदवार भएका छन्।
सिरहा–२ का स्थानीय रामलखन यादव पनि यसपटक जसपालाई मत नदिने मनसायमा छन्। यो क्षेत्रबाट २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रामलखन यसपटक कसलाई मत दिने भनेर परिवारसँग सल्लाह गरिरहेका छन्।
“२०७९ सालको चुनावमा मैले राजकिशोर यादवलाई मत दिएको थिएँ। तर यसपटक उनीहरूलाई मत दिनै मन लागेको छैन। मत दिइरहेको यत्रो वर्ष भइसक्यो, तर हामी जहीँको त्यहीँ छौँ,” उनले भने।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपा संसद्को छैटौँ ठूलो दल बनेको थियो। जसपाका सातजनाले प्रत्यक्षमा जित्दा पाँच सांसद समानुपातिकबाट थपिएका थिए। २०६४ सालयता उपेन्द्र यादवले नेतृत्व गरेको दल हालसम्मकै कमजोर अवस्थामा पुगेको थियो।
यसपटक समानुपातिकतर्फ बन्दसूची बुझाउने अन्तिम मितिभन्दा दुई दिनअघि पुस १४ गते उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरण भयो। त्यसको भोलिपल्ट नै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट उपाध्यक्ष रेणु यादवसहितका नेता जसपातिर लागे।
रेणु यादवसँगै जसपामा समाहित भएका प्रदीप यादव पर्सा–१ बाट टिकट नपाउने छाँटकाँट देखेपछि एमाले प्रवेश गरेका छन्। अशोक राई भने राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुँदैछन्। उता हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बीच मंसिर २४ गते एकीकरण घोषणा भएको थियो।
निर्वाचन नजिकिँदै जाँदा यादव नेतृत्वको जसपाले विभिन्न मधेश केन्द्रित दललाई मिलाए पनि अझै बलियो नदेखिएको राजनीतिक विश्लेषक उमेशलाल दास बताउँछन्। पटकपटक फुटेर जुट्दा जनता अलमलमा मात्रै नपरी पटकपटकको ‘नाटक’बाट आजित पनि भएको उनको भनाइ छ।
“यिनीहरूलाई त अब पत्याउनै छाडेका छन्। पहिलाजस्तो मिल्दा खुशी साटासाट र उत्साह यसपटक भित्र पनि छैन, बाहिर त हामी सबैले देखिरहेकै छौँ,” दास भन्छन्, “यिनीहरू निर्वाचनको नतिजालाई प्रभावित पार्न मात्र मिलेका हुन्, त्यसमा दुईमत छैन।”
लोसपालाई जसपामा विलीन गराएपछि महन्थ ठाकुर एमाले, कांग्रेस र जनमतको समर्थनमा राष्ट्रियसभा सदस्य बनेका छन्। उनी परम्परागत रूपमा उम्मेदवार बनिरहेको महत्तोरी–३ मा भने छोरी मीनाक्षीलाई उम्मेदवार बनाएका छन्।
उम्मेदवारी मनोनयनकै दिन ठाकुरले आफ्नो सहारा छोरी भएका कारण उम्मेदवार बनाएको स्पष्टीकरण दिएका थिए। उनले भनेका थिए, “म एक्लो मान्छेको सहारा यही छोरी हो। उनैको घरमा बसिरहेको छु। म जेलनेल भोग्दा त कसैले कहिले सोध्न आएन कसरी र कहाँ बसिरहनु भएको छ? अहिले यस्तो प्रश्न र आरोप किन?”
मधेश केन्द्रित दलहरू जसपामा समाहित भएर ‘कम ब्याक’को प्रयास गर्दा उनीहरूको अर्को चुनौती बालेन ‘फ्याक्टर’ हो। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। काठमाडौँ महानगरका पूर्वप्रमुख शाह रास्वपामा प्रवेश गरेपछि जनकपुरबाट औपचारिक दलीय सभा शुरू गरे।
माघ ४ गते मेयरको पदबाट राजीनामा दिएर माघ ५ गते उनी जनकपुरको सभामा पुगेका थिए। सभामा रास्वपा नेताले ‘मधेशको छोरो’ अबको प्रधानमन्त्री बन्ने भन्दै मत मागेका थिए। उनीहरूले ‘अब कि बार, बालेन सरकार’ नारा पनि लगाएका थिए।
तर बालेन फ्याक्टरले जसपा वा अरू मधेश केन्द्रित दललाई ठूलो फरक नपार्ने राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन्। जसपाको जनाधार खस्किए पनि त्यो मत रास्वपामा जान्छ भन्न नसकिने उनको भनाइ छ।
“जसपा बलियो नदेखिएको केही हदसम्म ठिक हो, तर कमजोर छ भनेर अहिले नै भन्न सकिँदैन। त्यो त चुनावमै थाहा होला,” जनकपुरी भन्छन्, “बालेनको पक्षमा मधेशको एउटा सानो हिस्सा पक्कै छ। बालेन फ्याक्टरले नै मधेश केन्द्रित दल र अन्य दल मधेशमा कमजोर भएको मलाई लाग्दैन।”
जसपा नेता राजकिशोर यादव भने आफूहरू मिलेपछि शक्तिशाली भएको दाबी गर्छन्। मधेशी जनताकै चाहनाअनुरूप आफूहरू मिलेको र मतदाता जसपालाई मत दिन उत्साहित भएको उनको दाबी छ।
“हाम्रो मुख्य आधार क्षेत्र नै मधेशका जिल्लाहरू हुन्। यसपटक बाहिरबाट हामी कमजोर भएको देखिनसक्छ, तर बास्तवमा हामी मिलेर धेरै नै बलियो भइसकेका छौँ,” यादव भन्छन्, “यहाँको मतदाता बडो विवेक पुर्याएर मतदानमा सहभागी हुन्छन्। सामाजिक सञ्जालको हावाले मधेशलाई कुनै फरक पार्दैन।”
तत्कालीन लोसपा (हाल जसपा) नेता परमेश्वर साह भने बालेन फ्याक्टरले आफूहरूलाई मात्रै नभई सबै दललाई केही हदसम्म प्रभाव पारेको स्वीकार गर्छन्। बालेनले मधेशमा मात्रै नभइ देशैभरि ‘वेभ’ ल्याएको नकार्न नसकिने उनको भनाइ छ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि माहोल फेरिएको साह बताउँछन्। “जहाँसम्म हाम्रो कुरा छ, हामी मिलेपछि बलियो भएकै हो। तर जति हुनुपर्थ्यो, त्यति हुन सकेनौँ,” साह भन्छन्, “तर पनि मधेशमा हामी सबैभन्दा बलियो शक्तिको रूपमा आउछौँ। मधेशका ३२ निर्वाचन क्षेत्रबाट कमसेकम २० वटा जित्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
