आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको वैयक्तिक विवरण

निर्वाचन आयोगले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन भन्दै उम्मेदवारहरूले मनोनयनका क्रममा पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानूनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उनले बताए।

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने आयोगको विश्वास छ।उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’मा हेर्न सकिने आयोगले जनाएको छ।