जिम्बाब्वेमा बाढीले गाडी बगाउँदा ९ जनाको मृत्यु

प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ।

दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड प्रान्तमा भीषण बाढीका कारण एक सवारी साधन बग्दा ९ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शांगामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगेको हो। नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको बताइएको छ।

प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्ला महिनामा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्र प्रभावित भएका छन्। 

बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभर सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। (रासस/सिन्ह्वा)