हिमपातले सुदूर पहाडमा राजमार्ग र विद्युत् सेवा अवरुद्ध

डडेलधुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ।

हिमपातले सुदूर पहाडमा राजमार्ग र विद्युत् सेवा अवरुद्ध
रासस

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग शुक्रबार रातिदेखि अवरुद्ध भएका हुन्। 

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ। “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ,” उनले भने।

यस्तै डडेलधुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेलधुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि किसान खुशी भएका छन्। 

चार महिनायता वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि बाली सप्रिने किसानको भनाइ छ। अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।