कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल कुनै समय २२ बिघा क्षेत्रफलमा फैलिएको थियो। अहिले भने करिब पाँच बिघामा सीमित भएको छ।
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ। वर्षौंदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो।
कुनै समय २२ बिघा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ। संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ। स्थानीय लालसिंह बोहराका अनुसार तालको सीमा विवाद टुंगो नलाग्दा संरक्षणमा अवरोध सिर्जना भएको छ।
“ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ,” उनले भने, “स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ।”
तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन्। अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ। २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको शृंखला शुरू भएको स्थानीयको भनाइ छ।
स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ। “पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ,” महराले भने। तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ।
प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ। सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको उनी बताउँछन्। स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन्। पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खलबलिन पुगेको छ।
तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो। प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन्। सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ।
“दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौँ,” प्रमुख बोहराले भने, “तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल संकटमा परेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
