गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

मन्त्रिपरिषद्ले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्नुका साथै सिद्धार्थ राजमार्ग सुधारका लागि प्राप्त हुने २ मिलियन डलरको वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री अर्याललाई नयाँ प्रवक्ता तोक्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त प्रवक्ता एवं गृहमन्त्री अर्यालले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थ मन्त्रालय अन्तर्गत सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै, बैठकले गृह मन्त्रालय मातहत रहेको जाँचबुझ आयोगको कार्यम्याद २० दिन थप गर्ने निर्णय समेत गरेको छ। विसं. २०८२ भदौमा गठित उक्त आयोगको म्याद थप गरी अधुरा कार्यहरू सम्पन्न गर्न समय दिइएको हो।