गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी न्यून

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढे पनि उम्मेदवारीमा भने महिलाको सहभागिता अत्यन्तै न्यून देखिएको छ।

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ। हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ।

प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीन वटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार छन्। क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ।

दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङ्जा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन। नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८/१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ।

गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ। तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एक/एक जना महिलाको उम्मेदवारी परेको छ।

एक/एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सात जना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन। लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ। मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ। म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन्।