ग्रिनल्यान्ड र नोबेल पुरस्कारबारे ट्रम्पको अभिव्यक्तिको विरोध

ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए, जसको ती देशहरूले कडा विरोध गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोडेका छन्। 

नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ। सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ। ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डवासीलाई सुरक्षा दिने विश्वास राखेको जनाएको छ।

नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उनले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताएका हुन्। उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिंटन र युरोपका नजिकका सहयोगीबीचको तनाव थप बढेको देखिएको छ। 

यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए, जसको ती देशहरूले कडा विरोध गरेका छन्।

अमेरिकाका परम्परागत सहयोगी राष्ट्रले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन्। युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताएका छन्।

ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ। बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाए। 

यसबीच, हजारौँ ग्रिनल्यान्डवासीले टापु कब्जा गर्ने कुनै पनि प्रयासविरुद्ध प्रदर्शन गरेका छन्। ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबदलिने स्पष्ट पारेका छन्। 

नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पारे। साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उनले बताएका छन्। 

गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाएका थिए। यद्यपि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई ‘जीवन बचाउने’ कुरामा मात्र चासो रहेको बताएका थिए। 

ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने संकेत पनि गरेका छन्। युरोपेली देशहरूले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्यांकन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रियामात्र भएको बताएका छन्। (रासस/एपी)