सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

बजारमा एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ। तीन दिनदेखि प्रतितोला २ लाख ७७ हजार रुपैयाँभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य मंगलबार पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै चाँदीको मोल ५ हजार ८८० रुपैयाँ कायम भएको छ। 

गत आइतबार एक तोला छापावाल सुन २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार एक तोला सुन २ लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो।