धोती–कुर्तामा सजिएर बालेनले मैथिलीमै गरेको भाषणले कस्तो अर्थ राख्छ?

बालेन शाहले मधेशी पोसाकमा सजिएर मैथिलीमै भाषण गरेर सर्वसाधारणको मन जित्न खोजेको, यो रास्वपाको मधेश पस्ने रणनीति भएको राजनीतिक विश्लेषकको बुझाइ छ।

धनुषा (जनकपुरधाम)– जनकपुरको तिरहुतिया गाछीमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्‍यो। यो सभाबाट रास्वपाले देशभर चुनावी अभियान थालिएको सन्देश दियो। सभामा सभापति रवि लामिछानेसहितका शीर्षस्थ नेता सहभागी भए पनि मुख्य केन्द्रमा थिए, वरिष्ठ नेता बालेन्द्र शाह।

उनले सोमबार मात्रै काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेताको पदभार ग्रहण गरेका थिए। २०७९ को निर्वाचनमा मधेशमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको रास्वपाले आसन्न चुनावमा भने मधेशलाई पनि केन्द्रमा राखेको छ। बालेन्द्र शाह रास्वपा प्रवेश गरेसँगै मधेशको मतलाई पनि पार्टीमा रूपान्तरण गर्न रास्वपाले उनकै उपस्थितिमा जनकपुरमा कार्यक्रम राखेको हो।

आठवटै जिल्लाबाट रास्वपाको सभा, त्यसमा पनि बालेन्द्र शाहलाई हेर्न र उनको भाषण सुन्न मानिसहरू आएका थिए। शाहले मैथिली भाषामै भाषण गर्लान् कि के गर्लान् भन्ने चासो थियो। सबैको चासो मेटिने गरी आफ्नो १० मिनेट लामो सम्बोधन शाहले मैथिली भाषामै गरे।

“आइ एगो मधेशिया छाउडा प्रधानमन्त्री बनेला आइ ओइला पीएम बनेवाला है ओइला घन्टीमे भोट रहेगे अर्थात् एउटा मधेशिया केटो प्रधानमन्त्री बन्छ भनेर घण्टीमा भोट हाल्ने होइन। सही मान्छे ल्याउनका लागि, सही सरकार आउनका लागि घण्टीमा भोट हाल्नुस्,” उनले सम्बोधनका क्रममा भने।

उनले आफ्नो सम्पूर्ण सम्बोधन मैथिलीमै गरेका थिए। उनको भाषण सुन्न उपस्थित भएका जनकपुरका ७६ वर्षीय तिलेश्वर कापरी उनले मैथिलीमा भाषण गर्दा निकै खुशी देखिन्थे। “मैथिलीमै भाषण गर्दा निकै खुशी लाग्यो। मधेशको यो छोरोले काठमाडौँको मेयर बनेर धेरै काम गर्‍यो। अब मधेशको प्रधानमन्त्री भएर परिवर्तन गर्छ,” उनले भने, “पुराना दल र नेताले भ्रष्टाचार र बेथिति मात्रै गरे तर रवि र बालेन मिलेर देश बनाउँछन् भन्ने आशा जागेको छ।”

रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ, उसले चुनावी यात्रा पनि मधेशबाटै शुरू गर्‍यो। किनभने, सात वटा प्रदेशमध्ये बागमतीपछि सबैभन्दा धेरै (३२) सिट भएको निर्वाचन क्षेत्र मधेश हो। जहाँ समानुपातिकमा पनि ठूलो संख्यामा मत आफ्नो पक्षमा पार्न सकिने आकलनकै बीच रास्वपाले बालेनलाई प्रधानमन्त्री स्विकारेर मधेशमा उतारेको हो। विश्लेषक चन्द्रकिशोर बालेनलाई अघि सारेर रास्वपाले मधेशमा आफ्नो जनाधार बढाउन खोजेको रूपमा अर्थ्याउँछन्।

मैथिली भाषामै सम्बोधन गर्नुले कति अर्थ राख्छ त? विश्लेषक चन्द्रकिशोर भन्छन्, “उनले भुइँमान्छेले बोल्ने भाषा बोले। उनको आजको भाषणले उनी भुइँमान्छेसँग पनि अन्तरक्रिया गर्न सक्छन् भन्ने आत्मविश्वास देखायो।” मधेशमा बोलिने मैथिली भाषा पनि थरीथरीका हुने भन्दै उनले बालेन्द्रको भाषा भुइँतहकै मानिसले बुझ्ने खालको रहेको बताए। “उनले मधेशी पहिचानलाई राष्ट्रिय पहिचानसँग जोड्ने काम गरे। मधेशले पनि देशको शासन गर्न सक्छ भनेर भाष्य दिने कोशिश गरे। मिथिलाको माटोको संस्कार देखाए,” उनले भने, “मधेशका आम मानिससम्म उनले सम्बन्ध बनाउन खोजेको देखियो। यसले चुनावमा के–कति फरक पार्छ, त्यो त पछि थाहा होला।”

उनले सम्बोधनका क्रममा पुरानो सत्ताको आलोचना गरे पनि सभ्य भाषा प्रयोग गरेर मधेशी जनतासामु आफू शालीन रहेको देखाएको बताए। “कतिपय पार्टीकै कार्यक्रममा सहभागी भएका शुभचिन्तक होलान् र कतिपय हेर्न आएका मानिस थिए होलान्,” उनले भने, “त्यहाँ आएका मानिसले गाउँमा त्यो सन्देश लैजान सक्छन् र त्यसले मतपेटिकामा केही फरक पार्न सक्छ।”

बालेन–रविसँगको अपेक्षा 
सोमबार सभामा उपस्थित भएका विभिन्न जिल्लाका धेरै सहभागीको एउटा अपेक्षा थियो– नयाँ पुस्ताका युवा नेताहरूले देशमा केही परिवर्तन गर्न सक्छन्। महोत्तरीबाट आएका रामकृष्ण यादवले मधेशी मूलकै मानिस प्रधानमन्त्री भयो भने मधेशमा परिवर्तन होला भन्ने आशा जागेको बताए। अर्का सहभागी रामदरश यादवले 'जेनजी' आन्दोलनपश्चात् आम नागरिकले परिवर्तन चाहेको र दुई जना युवा नेताले देशमा केही गर्लान् कि भन्ने आशा लागेको बताए।

“मधेशवादी दल, माओवादी लगायतलाई यसअघि मत दिइयो तर केही भएन। यसपटक बालेन्द्र र रविलाई समर्थन गर्दै सभामा आएको हुँ,” उनले भने, “बालेनले काठमाडौँमा गरेको काम देखिसकिएका छन्। अब प्रधानमन्त्री भएपछि पनि केही गर्लान् कि?”

सप्तरीबाट आएकी राधा पासवान बालेन र रवि नयाँ पुस्ताका नेता भएकाले देशको मुहार फेरिन्छ कि भन्ने आशा लागेर सहभागी भएको बताइन्। “दुवै जना युवा हुनुहुन्छ। उनीहरूले भ्रष्टाचार अन्त्य गर्दै देश विकास गर्नुहोला भन्ने अपेक्षा छ,” उनले भनिन्, “विगतमा धेरै पार्टी र नेतालाई मत दिइयो तर यहाँको समस्या जस्ताको त्यस्तै रह्यो। अब केही हुन्छ कि भन्ने हो।”

बाराबाट आएकी ललितादेवी मधेशमा व्याप्त बेरोजगारी र अशिक्षा लगायतका समस्या समाधान अब नयाँ पुस्ताका नेताहरूले गर्लान् कि भन्ने सोचेर सभामा आएको बताइन्। “हाम्रो प्रदेशमा भ्रष्टाचारले दुःख दिएको छ। यहाँका जनता समस्यामा छन्,” उनले भनिन्, “यसअघि धेरैलाई हेरियो, अब नयाँले केही गर्छन् कि भनेर आशा जागेको छ।” 

बाराकै रामहरि खड्की पनि युवा नेताहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा उठाएर एक ठाउँमा उभिएकाले देशको विकासले काँचुली फेर्छ कि भन्ने आशा लागेर सहभागी भएको बताए।