रास्वपाले जनकपुरबाट थाल्यो चुनावी अभियान: संघीयता बलियो बनाएर देश समृद्ध बनाउने दाबी

वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेर जनकपुरधामबाट चुनावी अभियान थालेको रास्वपाका नेताहरूले पार्टी संघीयताविरोधी नरहेको जिकिर गर्दै यसका नाममा रहेका विकृति हटाउने र संरचना सुधार्ने बताएका छन्।

धनुषा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मधेस प्रदेशलाई केन्द्रमा राख्दै चुनावी यात्रा औपचारिक रूपमा शुरू गरेको छ। धनुषाको जनकपुरधामस्थित तिरहुतिया गाछीमा सोमबार आयोजित ‘परिवर्तन उद्घोष सभा’मार्फत रास्वपाले आफ्नो चुनावी अभियान थालेको हो।

मधेश प्रदेशलाई केन्द्रमा राखेर रास्वपाले शुरू गरेको अभियानअन्तर्गतको सभामा आकर्षणको केन्द्रमा थिए, वरिष्ठ नेता बालेन्द्र शाह। शाहलाई हेर्न र उनको भाषण सुन्न जनकपुरमा मधेश प्रदेशका आठवटै जिल्लाबाट सहभागीहरू उपस्थित थिए।

मधेशी पोसाक धोती-कुर्तामा मञ्चमा उपस्थित भएका शाहले आफ्नो सम्बोधन मैथिली भाषामै गरे। सम्बोधनका क्रममा शाहले आफू ‘काम गर्ने मानिस’ भएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा गरेका कामको चर्चा गरे। उनले आफूले गरेका कामको चर्चा गरिरहँदा सहभागीहरूले ‘अबकी बार बालेन सरकार’ भन्दै हुटिङसमेत गरेका थिए।

“म लगायत रास्वपालाई संघीयताविरोधी भनियो, जुन गलत हो,” उनले सम्बोधनका क्रममा भने, “हामी गरेर देखाउँछौँ कि विकास के हो र संघीयताको कार्यान्वयन कसरी गर्ने भनेर।”

उनले रास्वपाको सरकार बनेपछि अधिकार माग्नका लागि मधेशलगायत कुनै पनि प्रदेशका जनताले काठमाडौँ धाउनु नपर्नेसमेत बताए। “अधिकार माग्न अब काठमाडौँ जानु पर्दैन, बरु घुम्न जानुहोला। काठमाडौँमा पशुपतिनाथ र स्वयम्भूदेखि धेरै घुम्ने ठाउँहरू छन्,” उनले भने।

सम्बोधनका क्रममा उनले काठमाडौँ महानगरको प्रमुख हुँदा माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा पनि केही गर्न नसकेको बताए। “त्यति बेला आन्दोलन भयो, मैले काठमाडौँको मेयरका हिसाबले केही गर्न सकिनँ तर अब देशको प्रधानमन्त्री बनेपछि त्यो गरेर देखाउँछु,” उनले भने, “जसरी काठमाडौँ महानगरपालिकामा समाजवाद छ, अब त्यो सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा पनि चाहिएको छ।”

उनले सम्बोधनका क्रममा मधेशको छोरा अब देशको प्रधानमन्त्री बन्न लागेको भन्दै घण्टीमा भोट हाल्ने कि नहाल्ने भनी प्रश्न गरे।

त्यस्तै, पार्टी सभापति रवि लामिछानेले देश र मधेसलाई पुरानो सत्ताले गरेको अन्यायको हिसाब लिने बेला आएको बताए। “देश अब बालेनले बनाउँछन्। देश सामाजिक न्याय र समृद्धिको बाटोमा अगाडि बढ्छ,” उनले भने, “संघीयता कस्तो हुन्छ र त्यसले कसरी काम गर्छ भनेर अब हामीले देखाउनेछौँ।”

उनले अघिल्लो चुनावमा आफूले सबैभन्दा बढी मत ल्याएर इतिहास रचेको स्मरण गर्दै अबको चुनावमा पार्टीले सबैभन्दा धेरै सिट ल्याएर संसद्मा जाने दाबी गरे। अघिल्लो सरकारको आलोचना गर्दै लामिछानेले आफूलाई जेल पुर्‍याए पनि कुनै चिन्ता नभएको र मुद्दा लड्दै जाने बताए।

उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताको विरोधी नभई यसको सुधारको पक्षमा रहेको प्रष्ट पारे। “रास्वपा मधेश झरेसँगै हामी संघीयताविरोधी हौँ कि होइनौँ भन्ने पुष्टि भएको छ। हामी सामाजिक न्यायको पक्षमा छौँ। हामीलाई संघीयताको सुधार चाहिएको हो, यसका नाममा रहेका विकृति पखाल्छौँ र प्रदेशको संरचना सुधार्छौँ,” उनले भने, “केन्द्रीय सरकारको जस्तै नक्कल गरिएका प्रदेशका खराब विषय सुधार्नेछौँ।”

उनले पार्टीले सबैको आशा र भरोसाका रूपमा बालेनलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको बताए।

अर्का उपसभापति डीपी अर्यालले मधेशले देश बनाउने प्रधानमन्त्री पाउन लागेको भन्दै त्यसका लागि सिंगो मधेशको साथ आवश्यक रहेको बताए। रास्वपा प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनीष झाले रास्वपाको अबको अभियान देश बनाउने रहेको र त्यो बहुमत आए मात्र सम्भव हुने बताए।

“मधेसले पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाउँदै छ। युवा नेतृत्व नै अबको आवश्यकता हो,” उनले भने, “हामी विकास र समृद्धि के हो भनेर काम गरेर देखाउनेछौँ।”

सभामा विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंह रास्वपा प्रवेश गरेका थिए। सभालाई नेता सोबिता गौतम, सुरेन्द्र चौधरी, रहबर अन्सारी, पुरुषोत्तम यादव लगायतले सम्बोधन गरेका थिए।