मनाङमा सात हजार मतदाता, तोकियो २९ मतदान केन्द्र

भौगोलिक विकटता र मौसमका कारण मनाङमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण मानिन्छ।

फाइल तस्वीर

मनाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ। उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन्। 

विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका थिए। प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्नेछन्। सुरक्षा र मतदातालाई सहज बनाउन कारागारमा एउटा मतदान केन्द्र थप भएको छ। 

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायी समेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी कुँवरले बताए। भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ। यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए। 

“सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम छ। निर्वाचनको तयारी भने भइरहेको छ” उनले भने। 
भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो। त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबिच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ।