जापानमा मध्यावधि निर्वाचनको तयारी

जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो नीतिगत अजेन्डाका लागि बलियो जनादेश आवश्यक रहेको भन्दै आगामी फेब्रुअरी ८ मा मध्यावधि निर्वाचन गराउने तयारी गरेकी छन्।

जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत अजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि (स्न्याप) निर्वाचन आह्वान गर्ने योजना बनाएकी छन्। उनले सोमबार यसबारे औपचारिक घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई पुनः जनसमर्थन दिलाउन आफ्नो व्यक्तिगत लोकप्रियतामाथि भरोसा गरेकी छन्। गत हप्ता पार्टीका वरिष्ठ अधिकारीहरूलाई यसबारे संकेत दिइसकेकी उनले सोमबार आयोजना हुने पत्रकार सम्मेलनमार्फत आगामी फेब्रुअरी ८ मा मतदान गराउने कार्यतालिका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

एलडीपीले दशकौँदेखि जापानको राजनीतिमा वर्चस्व कायम राख्दै आएको भए पनि पछिल्ला वर्षहरूमा नेतृत्व परिवर्तन र बढ्दो जनअसन्तोषले चुनौती थपेको छ। अक्टोबरमा प्रधानमन्त्री नियुक्त भएकी ताकाइचीको मन्त्रिपरिषद्को लोकप्रियता तुलनात्मक रूपमा उच्च छ। यद्यपि, हालको तल्लो सदनमा जापान इनोभेसन पार्टीसहितको सत्तारूढ गठबन्धनसँग झिनो बहुमत मात्रै छ।

यस्तो अवस्थामा सक्रिय वित्तीय खर्च र रक्षा बजेट वृद्धि जस्ता उनका महत्त्वपूर्ण नीतिहरू पारित गर्न कठिनाइ हुन सक्ने विश्लेषकहरूको बुझाइ छ। टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोका अनुसार, यदि एलडीपीले तल्लो सदनमा एकल बहुमत हासिल गर्न सकेमा प्रधानमन्त्री ताकाइचीलाई अन्य दलहरूको सहमतिबिना नै आफ्ना अजेन्डाहरू अघि बढाउन सहज हुनेछ।

सरकारले अप्रिल २०२६ देखि लागू हुने आर्थिक वर्षका लागि १,२२३ खर्ब येन बराबरको बजेट स्वीकृत गरिसकेको छ। प्रधानमन्त्री ताकाइचीले मुद्रास्फीति नियन्त्रण र अर्थतन्त्रलाई गति दिन यो बजेटलाई यथाशीघ्र संसद्बाट पारित गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। तर, विपक्षी दलहरूले भने चुनावका कारण बजेट प्रक्रियामा ढिलाइ हुने र यसले आम नागरिकको जीविकोपार्जनमा असर पार्ने चेतावनी दिएका छन्।

बढ्दो महँगीका कारण जनतामा असन्तुष्टि बढिरहेका बेला एलडीपीले राहत स्वरूप खाद्यान्नमा कर कटौती गर्ने जस्ता लोकप्रिय उपायहरूका बारेमा समेत आन्तरिक छलफल गरिरहेको समाचारमा उल्लेख छ।