इरानमा आर्थिक कठिनाइको विरोधमा चर्किएको प्रदर्शनपछि १० दिनदेखि बन्द गरिएको इन्टरनेट सेवा बिस्तारै पुनर्स्थापना गर्न थालिएको इरानी अधिकारीहरूले बताएका छन्।
करिब १० दिनअघि अकस्मात् इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ सेवा पुनर्स्थापना गर्ने प्रयास भइरहेको इरानी अधिकारीहरूले बताएका छन्।
आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा शुरू भएको प्रदर्शन इरानी नेतृत्वका लागि ठूलो चुनौतीका रूपमा परिणत भएको थियो। इरानी अधिकारीहरूले प्रदर्शन शुरूमा शान्तिपूर्ण रहे पनि बिस्तारै ‘दंगा’मा परिणत भएको दाबी गरेका छन्। यसमा इरानले आफ्नो शत्रु घोषणा गरेका संयुक्त राज्य अमेरिका र इजरायलको ‘प्रभाव’ रहेको आरोप लगाएको छ।
अधिकारवादी समूहहरूले भने जनवरी ८ देखि शुरू भएको आन्दोलनको आकार र तीव्रता बढ्दै गएपछि सञ्चार बन्दको आवरणमा सुरक्षा बलले ‘नरसंहार’ गरेको आरोप लगाएका छन्। शुक्रबारपछि प्रदर्शनको राप केही कम भएको बताइएको छ। सरकारी अधिकारीहरूले भने देशमा शान्ति बहाल भएको र आइतबारदेखि पठनपाठन सुचारु गरिएको दाबी गरेका छन्।
तास्निम समाचार एजेन्सीका अनुसार अधिकारीहरूले इन्टरनेट पहुँच बिस्तारै पुनर्स्थापना गर्ने घोषणा गरेका छन्। स्रोतलाई उद्धृत गर्दै एजेन्सीले भनेको छ, “स्थानीय सञ्चारमाध्यमहरू चाँडै नै इरानको घरेलु इन्ट्रानेटमा सक्रिय हुनेछन्।” यद्यपि, आइतबार बिहानसम्म पनि इन्टरनेट प्रदायक र मोबाइल इन्टरनेटको ठूलो क्षेत्र बन्द नै छ।
मंगलबारदेखि अन्तर्राष्ट्रिय कलहरू सम्भव हुने बताइएको छ भने सन्देश (मेसेज) आदानप्रदान शनिबार बिहानदेखि पुनर्स्थापना गरिएको छ। यसअघि धेरै दिनसम्म लिखित सन्देश, अन्तर्राष्ट्रिय फोन कल र स्थानीय कलसमेत अवरुद्ध भएका थिए। सञ्चार अवरोधको समयमा इरानले आफ्नो घरेलु सञ्जाल ‘इन्ट्रानेट’ मा मात्र भर परेको थियो।
अधिकारवादी समूहहरूका अनुसार इन्टरनेटमा लगाइएको प्रतिबन्धका बाबजुद सूचनाहरू अझै पनि ‘फिल्टर’ (छनोट) गरिएको छ। एम्नेस्टी इन्टरनेसनलले हालैका दिनमा दर्जनौँ भिडियो र सामाजिक सञ्जालका सामग्रीहरूलाई छानेर मात्र बाहिरिन दिइएको बताएको छ।
एम्नेस्टीकी इरान अनुसन्धानकर्ता राहा बहरेनीले अनलाइनमा पोस्ट गरेको एक भिडियोमा भने, “सुरक्षा बलले सडक र उच्च स्थानबाट प्रदर्शनकारीहरूमाथि निरन्तर गोली चलाइरहेको छ र अस्पतालहरू घाइते प्रदर्शनकारीले भरिएका छन्।”
नर्वेस्थित मानव अधिकार समूह ‘इरान ह्युमन राइट्स’ (आइएचआर)ले प्रत्यक्षदर्शी र स्वतन्त्र स्रोतमार्फत सुरक्षा बलको कारबाहीमा परी हालसम्म ३ हजार ४२८ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, मृतकको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने दाबी गरिएको छ। इन्टरनेट ब्ल्याकआउटका कारण सञ्चार सम्पर्क विच्छेद हुँदा सञ्चारमाध्यमले यी तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिरहेका छैनन्।
इरानी अधिकारीहरूले भने मृतकको यकिन संख्या सार्वजनिक गरेका छैनन्। आइएचआरका अनुसार अन्य अनुमानले मृतकको संख्या ५ हजारदेखि २० हजारभन्दा बढी हुन सक्ने देखाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
