युवालाई अवसर नदिएको भन्दै एमाले बाजुरा कार्यालयमा तालाबन्दी

पार्टीले नयाँ पुस्तालाई उपेक्षा गर्दै पटक-पटक अवसर पाएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको विरोधमा असन्तुष्ट पक्षले नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

बाजुरा– नेकपा (एमाले) बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि पार्टीले युवा पुस्तालाई अवसर नदिएको भन्दै असन्तुष्ट पक्षले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।

एमाले केन्द्रीय कमिटीको निर्णयप्रति असन्तुष्टि जनाउँदै भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रूपमा कार्यालयमा ताला लगाएका हुन्। पार्टीले नयाँ पुस्तालाई उपेक्षा गरी पटक-पटक अवसर पाएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको उनीहरूको आरोप छ।

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव रामचन्द्र रोकायाले पार्टीले युवा भावनाको कदर नगरेकाले बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए। एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वमहासचिव नरेश रोकायालाई टिकट नदिइनुले सिंगो बाजुरेली युवाहरूको भावनामाथि खेलबाड गरिएको असन्तुष्ट पक्षको भनाइ छ।

युवाहरूले यसपटक नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने माग राख्दै आएका थिए। तर, पार्टीले केन्द्रीय सदस्य लालबहादुर थापालाई नै पुनः अघि सारेपछि कार्यकर्ताहरू थप आक्रोशित बनेका हुन्।