सुदूरपश्चिम निर्वाचन सुरक्षा: ७ हजार प्रहरी परिचालन हुने, ४८१ मतदानस्थल अतिसंवेदनशील

आगामी फागुन २१ को निर्वाचनका लागि सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ भने ४८१ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार ५८ जना नेपाल प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा निर्वाचन क्षेत्रमा सुरक्षा तयारी तीव्र पारिएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील मतदानस्थलहरूमा नेपाल प्रहरी र निर्वाचन प्रहरी (म्यादी) को बाक्लो उपस्थिति रहने उनले बताए।

प्रदेशका १६ निर्वाचन क्षेत्रमा रहेका कुल १ हजार १७६ मतदानस्थलमध्ये ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्।

सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् भने मतदानस्थलको भित्री सुरक्षामा निर्वाचन प्रहरी खटाइनेछ। त्यसका लागि प्रदेशभर १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यहाँका नौवटै जिल्लामा गरी १६ हजार १९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्।

कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवेदन परे पनि बाँकी पाँच जिल्लामा भने मागभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। कार्यालय प्रमुख प्रेमराज भट्टले प्रदेशमा नौवटा मुख्य निर्वाचन अधिकृत र सातवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए। सुदूरपश्चिमका नौवटै जिल्लामा नयाँ थपिएका समेत गरी कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।