काभ्रेका किसान मल्चिङ विधिबाट कफीखेतीतर्फ आकर्षित

काभ्रेको महाभारत गाउँपालिकाले 'जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट' कार्यक्रममार्फत अनुदान र मल्चिङजस्ता आधुनिक प्रविधिमा सघाएपछि स्थानीय किसान कफी खेतीतर्फ आकर्षित भएका छन्।

फाइल तस्वीर

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफी खेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन्। गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई मल्चिङ विधि, थोपा सिँचाइ र छहारी व्यवस्थापनमा सघाएपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन्।

गाउँपालिकाको सहयोगमा वडा नं. ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रूपमा खेती भइरहेको छ। वडा नं. ५ का वडाध्यक्ष विजय रानामगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रूपमा मल्चिङ विधिबाट कफी खेती शुरू गरेका छन्।

मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र माटोको ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उनले बताए। त्यसका साथै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ। यसरी खेती गर्दा चाँडो फल लाग्ने र उत्पादन गुणस्तरीय हुने उनको भनाइ छ।

महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन्। छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी (फल) पनि गुणस्तरीय हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन्।

गाउँपालिकाले कफी उत्पादन र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारित ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको कृषि प्राविधिक खिमबहादुर डाँगीले जानकारी दिए।

गाउँपालिकाको करिब ३ हजार २०० रोपनीमा कफीको व्यावसायिक खेती विस्तार भइरहेको छ। विसं. २०७८ देखि यहाँका कफी किसान, कृषि सहकारी र समूहहरूलाई ३ लाख ३१ हजारभन्दा बढी बिरुवा वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ। पालिकाले वितरणका लागि आफ्नै नर्सरीबाट ७८ हजार बिरुवा उत्पादन गरेको छ।

गाउँपालिकाले किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ कार्यक्रमअन्तर्गत प्रतिबोट २० रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेको छ। किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेपछि पालिकाले बिरुवा, आवश्यक उपकरण तथा प्रशोधन सामग्री वितरणमा जोड दिँदै आएको छ।