कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सानेपामा देउवा पक्षको छुट्टै भेला

देउवा समूहले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने भन्दै कानूनी लडाइँ लड्ने जनाएको छ। बिहानैदेखि देउवा पक्षका नेता केन्द्रीय कार्यालयमा भेला भएर छलफल गरिरहेका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सानेपामा देउवा पक्षको छुट्टै भेला
फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। सभापतिमा गगन थापा निर्वाचित भएसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधानिकता दिएसँगै बैठक बस्न लागेको हो। प्रवक्ता देवराज चालिसेले नयाँ बानेश्वरस्थित अर्पण ब्यान्केटमा केन्द्रीय कार्यसमितिको बैठक बिहान साढे ११ बजे बोलाइएको जानकारी दिए। 

समसामयिक राजनीतिक विषयवस्तु ६ गतेको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्तालगायत विषयमा बैठकमा छलफल हुने उनले बताए। पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। 

उक्त कार्यसमिति अद्यावधिका लागि आयोगमा दिएको निवेदन अनुसार शुक्रबारै आयोगले विशेष महाधिवेशनलाई वैधानिकता ठहर गर्दै नयाँ अद्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई नेपाली कांग्रेसको देउवा पक्षले भने अस्वीकार गर्ने जनाएको छ। 

आयोगले आधिकारिकता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नयाँ बानेश्वरमा बस्दै गर्दा सानेपास्थित केन्द्रीय कार्यालयमा भने देउवा पक्षको छुट्टै भेला भइरहेको छ। 

उक्त भेलाले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने भन्दै कानूनी लडाइँ लड्ने जनाएको छ। शनिबार बिहानैदेखि देउवापक्ष नेता केन्द्रीय कार्यालयमा भेला भएर छलफल गरिरहेका छन्।

 फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको दर्ता माघ ६ गते हुँदै छ। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पम्फा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरेलगायत नेताहरूले बैठक राख्दै उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन्।