तिला नदीमा जिप खस्दा ३ जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जिप दुर्घटना भएको हो। जिप सडकबाट ५०० मिटर तल तिला नदी किनारामा पुगेको थियो।

मान्म– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

सेरी पान्तडी सडकको सल्लेरीमा भे१ज २८९८ नम्बरको जिप ब्याक भएर दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए। गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा पुगेको छ। 

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिकाका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही छन्। 

उनीहरूमध्ये दुई जना स्काभेटर अपरेटर र एक जना सहचालक थिए। तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए। 

भीरबाट शव निकालेर परीक्षणका लागि सदरमुकाम लगिएको प्रहरी प्रमुख खत्रीले बताए। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।