कांग्रेसमा अब गुटबन्दी र भागबन्डा नहुने सभापति थापाको घोषणा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनपछि पार्टीले ‘रिफर्म’को यात्रा शुरू गरेको उल्लेख गर्दै सत्ताका लागि जोसँग जहिले पनि गरिने ‘अप्राकृतिक गठबन्धन’ को अन्त्य हुने बताए।

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले अब पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र भागबन्डा नहुने घोषणा गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएसँगै शुक्रबार एक अपिल जारी गर्दै उनले पार्टी अब नवीन ऊर्जा र एकताका साथ रूपान्तरणको दिशामा अगाडि बढेको बताएका हुन्।

सभापति थापाले निर्वाचन आयोगको निर्णयले पार्टीमा विधि, विधान र पद्धति स्थापित गरेको उल्लेख गर्दै यसप्रति आभार व्यक्त गरे। “यो नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीको सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा प्रतिफल हो,” विज्ञप्तिमा भनिएको छ, “अब नेपाली कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्केको छ।”

उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे। उनले भने, “यो विधि–विधानले प्रधानता पाएको क्षण हो, जय–पराजयको विषय होइन। कुनै अलमलमा नपरौँ, सबै संयम र जिम्मेवार बनौँ।” सभापति थापाले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको र ‘रिफर्म’को यात्रा शुरू भइसकेको दाबी गरे।

विगतको तिक्ततालाई बिर्सिएर पार्टीलाई अगाडि बढाउन पूर्वसभापति शेरबहादुर देउवालगायत सबै तहका नेता–कार्यकर्ताबाट पूर्ण साथ रहने विश्वास उनले व्यक्त गरे। “आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबन्डा हुनेछैन,” थापाले भनेका छन्, “जिम्मेवारी फरक होला तर भुइँतहमा रहेका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ।”

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेको उल्लेख गर्दै उनले अब मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता नगर्ने संकल्प गरेका छन्। सभापति थापाले सत्ताका लागि जोसँग जहिले पनि गरिने ‘अप्राकृतिक गठबन्धन’को अन्त्य हुने घोषणासमेत गरे। 

“अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन, सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थपसाथ र विश्वास चाहिएको छ।” उनले आगामी निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एक ढिक्का भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई अपिल गरे।