‘सरकारले ५ महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ’

जेनजी आन्दोलनका शहीद परिवारलाई माग पूरा गर्नुको सट्टा सरकारले पाँच महिनादेखि यताउता कुदाइरहेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरूले धर्ना दिएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयअगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन्।

धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए। उनले आन्दोलनका क्रममा उठाइएका मागहरू कागजी रूपमा स्वीकार गरिएको भए पनि व्यवहारमा पूरा नभएको बताए। “हामीले उठाएका मुद्दाहरू कागजमै सीमित भएका छन्, तर कार्यान्वयन भएको छैन,” उनले भने, “त्यसैले बाध्य भएर आज धर्नामा बसेका हौँ।”

चौलागाईंले शहीद घोषणा गर्ने, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने जस्ता विषय सामान्य भए पनि शहीद परिवारको जीवनयापनसँग सम्बन्धित मूल मागहरू अहिलेसम्म बेवास्ता गरिएको बताए।

“जुन मुद्दा हामीले उठाएका छौँ, ती पूरा भएका छैनन्। त्यसैले आज हामी धर्नामा बसेका हौँ। शहीद घोषणा गर्ने कुरा, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गरिने कुरा यी साधारण कुरा हुन्,” उनले भने, “तर शहीद परिवार बाँच्नुपर्ने र जीवनयापन गर्नुपर्ने विषयमा जुन माग–मुद्दाहरू छन्, ती कुनै पनि पूरा भएका छैनन्।”