कांग्रेस विवाद: देउवा पक्ष पनि निर्वाचन आयोगमा

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चुनिएपछि उत्पन्न विवादमा आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता आयोगमा पुगेका हुन्।

काठमाडौँ– नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोग पुगेका छन्। पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै शुक्रबार आयोग पुगेका उनीहरूले आवश्यक कागजात बुझाएका हुन्। 

टोलीमा केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापति, भातृसंस्था र शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ता रहेका छन्।  

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहले पनि आयोगमा नयाँ केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। 

सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको भन्दै आधिकारिकता दाबी गरेका थिए। 

थापा पार्टी सभापति चुनिएपछि उत्पन्न विवादमा आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता आयोगमा पुगेका हुन्।