म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

यस वर्ष १०० रोपनी खेतमा १५० मुरी धान फलाउने लक्ष्य रहे पनि मौसम अनुकूल नहुँदा कम भएको ध्रुव बताउँछन्। घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्ने उनको योजना छ।

म्याग्दी– मंगला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले १२० मुरी धान फलाएका छन्। खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ। खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन्।

“१०० रोपनी खेतमा १५० मुरी धान फलाउने लक्ष्य थियो,” उनी भन्छन्, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो।” सिमकाजी ब्रर्दस भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन पनि गरेका छन्।

म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ। खत्रीका पुर्खाहरूले ३०० वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए।

“घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु,” खत्रीले भने, “धान प्रतिपाथी ४०० र चामल प्रतिपाथी १ हजार रुपैयाँका दरले बिक्री हुन्छ।” बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन्।

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो। शहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता हुन्।

“गौरीया धान पाक्दा खेत नै बसाउँछ। भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ,” खत्रीले भने, “गौरीयाको भात खाइरहेकालाई अरू धानको भात रुच्दैन, गौरीया नै खोज्छन्।” स्थानीयका अनुसार चार पुस्तादेखि खेती हुँदै आएको गौरीयाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्यायले बताए। गौरीया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ। न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ।

गौरीया धानको दाना अरू जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुन्छ। पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपयोगी हुने बताइन्छ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन्। वार्षिक १० लाख रुपैयाँभन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए। एकवटा स्थानीय लिमे–पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनि पालेका छन्। हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनी भैँसीको संख्या बढाउने सोचमा छन्। 

श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन्। एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिएका छन्। वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनु चुनौतीका रूपमा रहेको खत्री बताउँछन्। 

रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा जन्मथलो फर्किएका हुन्। 

“हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र शहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरूलाई नै अधिया र बन्दकी दिएका थियौँ,” उनले भने, “कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौलीका साथै दाजुभाइको १०० रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धानखेती गर्दै आएको छु।”

पुर्खाहरूले ३०० वर्षअघि बनाएको घरमा होमस्टे सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन्। सिमलाई कृषि, पर्यटकीय गाउँका रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका छन्। बेनीदेखि १२.५ किमी पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्रकृति उपचारस्थल सिंगा तातोपानीदेखि ४.५ किमी नजिक छ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली शहरमा बसाइँसराइ र बिदेसिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिएको म्याग्दी उद्योग वाणिज्य संघका सचिव मोतिलाल पौडेलले बताए।