ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० बर्षीय टंक गुरुङ, २८ बर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन्।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उनले बताए। ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए।

दुर्घटनामा घाइतेका भएकालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।