हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा आहार र निद्रामा असर: अध्ययन

हप्तामा १० घण्टाभन्दा बढी खेल खेल्ने विद्यार्थीमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेमा सामान्य भएको अध्ययनले देखाएको छ।

हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने अध्ययनले देखाएको छ। 

अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा न्युट्रिसनमा प्रकाशित अनुसन्धानले यस्तो देखाएको हो। अध्ययनका क्रममा देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीको सर्वेक्षण गरेको थियो। 

अध्ययन गरिएका विद्यार्थीहरूको औसत उमेर २० वर्ष रहेको थियो। सहभागीलाई निम्न (०–५ घण्टा प्रतिहप्ता) मध्यम (५–१० घण्टा) र उच्च (१० घण्टाभन्दा) खेलाडीको रूपमा वर्गीकृत गरिएको थियो।

शोधकर्ताले कम र मध्यम समय खेल्नेमा सामान्य स्वास्थ्य अवस्था र साप्ताहिक १० घण्टाभन्दा बढी भिडियो गेम खेल खेल्नेमा आहार,निन्द्रा र तौल लगायतमा नकारात्मक असर परेको जनाएका छन्।  

हप्तामा १० घण्टाभन्दा बढी तथा अत्यधिक भिडियो गेम  युवाका लागि हानिकारक भएको कर्टिन स्कुल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोको भनाइ छ। १० घण्टाभन्दा बढी खेल खेल्ने विद्यार्थीमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेमा सामान्य भएको अध्ययनले देखाएको छ। 

सबै अध्ययन समूहले धेरै गेम गेल्नेमा  सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन्। १० घण्टाभन्दा बढी खेल्नेमा निद्रामा अवरोध भएको शोधकर्ताले बताएका छन्। 

अध्ययनले स्वस्थ दिनचर्या अपनाउन सुझाव दिँदै राती अबेरसम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिम कम गर्न सुझाएको छ। (रासस/सिन्ह्वा)