बजेट अर्धवार्षिक समीक्षाः आम्दानी र खर्च दुवै कमजोर

पुँजीगत शीर्षकको बजेट खर्च १२.१२ प्रतिशतमा खुम्चिएको छ। ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँको विकास बजेट ल्याइएकोमा ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। जसमा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ। जुन वार्षिक लक्ष्यको ३५.१४ प्रतिशत हो।

यो अवधिको चालुगत शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ४१.२५ प्रतिशत छ। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ४ खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ।

पुँजीगत शीर्षकको बजेट खर्च १२.१२ प्रतिशतमा खुम्चिएको छ। चालु आवका लागि ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको विकास बजेट ल्याइएकोमा हालसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबर मात्रै खर्च हुन सकेको हो।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा चालु आवका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएकोमा पुस मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबर खर्च भएको छ। यो शीर्षकको खर्च वार्षिक विनियोजनको ४०.९५ प्रतिशत हो।

यस वर्ष सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गर्ने लक्ष्य राखेको छ। पुस मसान्तसम्मको प्राप्ति भने ५ खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ३८.३८ प्रतिशत छ। यसरी सरकारको अर्धवार्षिक अवधिको कूल आम्दानीभन्दा कूल खर्च १ खर्ब एक अर्ब ७० करोड १२ लाख रुपैयाँले बढी देखिएको छ।

राजस्वतर्फ १४ खर्ब ८० अर्बको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ३९.०१ प्रतिशत अर्थात् ५ खर्ब ७७ अर्ब ४० करोड प्राप्ति भएको छ। यस आवमा ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा ७ अर्ब १० करोड ६९ लाख अर्थात् वार्षिक लक्ष्यको १३.३ प्रतिशत उठेको पनि कार्यालयले जनाएको छ।