अन्ततः सग्लाे रहेन नेपाली कांग्रेस

संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेस अन्ततः औपचारिक विभाजनको मोडमा पुगेको छ। विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई संस्थापन पक्षले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेसँगै कांग्रेस फुटतर्फ उन्मुख भएको हो।

सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई कारबाही गर्दै निष्कासनको निर्णय गरेको हो। कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा बसेको बैठकले कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

संस्थापन पक्षले कारबाही गरेपछि विशेष पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ। कारबाहीमा परेपछि महाधिवेशनको बन्दसत्रस्थल पुगेका थापाले सिंगो पार्टीलाई एकढिक्का बनाउन प्रयास गरिए पनि हुन नसकेको बताए। उनले अहिले अन्तरिम नेतृत्व मागेको भए पनि सभापति देउवाले उक्त प्रस्ताव नमान्दा सहमति हुन नसकेको बताए।

उनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति वैधानिक रूपमै भंग भइसकेको दाबी गर्दै आफूहरू नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा रहेको बताए। “तपाईंहरू मात्रै निर्वाचन आयोग जान जान्नुहुन्छ? यही ठाउँबाट विधिवत् रूपमा विशेष महाधिवेशन प्रारम्भ भएको जानकारी हामीले निर्वाचन आयोगलाई समयमै गराइसकेका छौँ,” उनले भने, “शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति अब अस्तित्वमा छैन, हामी नयाँ कार्यसमिति चयन गर्दै छौँ।”

पार्टी विभाजनलाई रोक्नका लागि सोमबारदेखि नै पटक पटक वार्ता भएको थियो। तर, वार्ताले सार्थक निष्कर्ष भने निकाल्न सकेन। विशेष पक्षधरले आठबुँदे मागसहित बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पनि पेश गरेको थियो। कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने माग राखेको थियो।

तर, संस्थापन पक्ष भने यो मागमा सकारात्मक हुन सकेन। उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने मागबाहेकका अन्य माग स्वीकार्न नसकिने अडान उनीहरूको थियो। जसका कारण सहमति बन्न सकेन। र केन्द्रीयकार्य समितिले महामन्त्रीद्धय र सहमहामन्त्रीलाई कारबावीको निर्णय गर्‍यो। 

केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति खड्काले नै पार्टी फुटमा जाने निश्चित भएको बताएका थिए। “महामन्त्रीले प्रधानमन्त्रीको घोषणा गरेर जाने र सभापतिले राजनीतिबाट संन्यास लिने भन्ने अडान छोड्न सकेनन्,” उनले बैठकमा भनेका थिए। 

कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा पुस २७ देखि विशेष महाधिवेशन आह्वान भएको हो। आइतबारदेखि जारी महाधिवेशनको बन्दसत्र बुधबारसम्म निरन्तर चलिरहेको छ। २०५९ मा शेरबहादुर देउवाले पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। संयोगवश, २३ वर्षपछि उनकै नेतृत्वमा रहेको पार्टी पुनः विभाजनको मोडमा पुगेको छ। कांग्रेस विभाजन पछि यो विवाद निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुग्ने देखिन्छ।